काठमाडौं । जापानको राजधानी टोकियोस्थित चर्चित पर्यटकीय क्षेत्र ओदाइबामा आगामी जुलाई १८, १९ र २० गते तीनदिने ‘नेपाल फेस्टिभल २०२६’ आयोजना हुने भएको छ। नेपाली राजदूतावास, गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान तथा नेपाल आदिवासी जनजाति महासंघको संयुक्त आयोजनामा महोत्सवको १५औँ संस्करण सञ्चालन हुन लागेको हो।
एनआरएनए जापानका प्रवक्ता सचिन आचार्यका अनुसार यस वर्षको महोत्सवलाई जापानमा बसोबास गर्ने नेपाली समुदायमा मात्र सीमित नराखी विश्वभरबाट टोकियो भ्रमणमा आएका पर्यटकसम्म पुर्याउने लक्ष्य राखिएको छ। उनका अनुसार ओदाइबा जापानी तथा विदेशी पर्यटकको अत्यन्त लोकप्रिय गन्तव्य भएकाले महोत्सवले नेपालको कला, संस्कृति, पर्यटन र राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रिय दर्शकमाझ प्रत्यक्ष रूपमा परिचित गराउने महत्वपूर्ण अवसर प्रदान गर्नेछ।
महोत्सवमा नेपालको मौलिक परिकार, विभिन्न जातजातिका सांस्कृतिक झाँकी, परम्परागत नृत्य, लोकसंस्कृति, हस्तकला प्रदर्शनी तथा चर्चित नेपाली कलाकारहरूको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। कार्यक्रममार्फत नेपालको सांस्कृतिक विविधता र पर्यटन सम्भावनालाई विश्वसामु प्रभावकारी रूपमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
एनआरएनए जापानका अध्यक्ष सुवास लामिछानेका अनुसार करिब २ करोड जापानी येन लागत अनुमान गरिएको महोत्सवबाट संकलित रकम ‘नेपाल हाउस जापान’ निर्माण अभियानमा लगानी गरिनेछ। चिबामा निर्माणाधीन नेपाल हाउसलाई जापानस्थित नेपाली समुदायको साझा पहिचान, सांस्कृतिक गतिविधि तथा पर्यटन प्रवर्द्धनको केन्द्रका रूपमा विकास गर्ने योजना छ। उक्त संरचनामा पशुपतिनाथ मन्दिर र बौद्ध स्तूपाका प्रतिरूपसहित नेपालको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको झल्को दिने आकर्षक संरचनाहरू निर्माण गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।



