प्रसिद्ध अमेरिकी युट्युबर MrBeast ले मिस्रको सरकारसँग पिरामिडहरु भाडामा लिएर त्यहाँका अज्ञात भाग र रहस्यमय भागहरू अन्वेषण गर्ने योजना बनाएका छन्।
“हामीले मिस्रका तीनवटै पिरामिड १०० घण्टाका लागि पाएका छौं। म यस्तो भिडियो बनाउँदै छु, जहाँ पिरामिडभित्र जहाँसुकै जान अनुमति दिइनेछ,” उनले Noah Lyles को “Beyond the Records” पोडकास्टमा खुलासा गरे।
चरम चुनौतीहरू र पुरस्कार दिने कार्यक्रमहरूको आयोजना गर्दै आएका प्रसिद्ध युट्युबर MrBeast ले थपे, “म पिरामिडभित्र कहिल्यै गइनँ। मलाई गोप्य ठाउँहरू फेला पार्न र सबै कोठा र चिहानहरूको अन्वेषण गर्न मन छ। म निकै उत्साहित छु किनभने पिरामिडको गहिराइमा धेरै गोप्य सुरुङहरू पनि छन्। मलाई के पत्ता लाग्छ भन्ने थाहा छैन।”
टुर गाइडको साथमा, MrBeast र उनका केही साथीहरूले यो प्राचीन स्मारकको भित्रपट्टि यात्रा गर्ने र त्यहाँ रात बिताउने योजना बनाएका छन्। उनले अनुभवलाई छायांकन गर्ने र त्यहाँका “कसैले पनि सार्वजनिक रूपमा नदेखेका” गोप्य भागहरू देखाउने उद्देश्य लिएका छन्।
यो पहुँच पाउन र त्यहाँ फिल्म गर्न अनुमति लिन उनले मिस्र सरकारसँग सहकार्य गरेका थिए । मिस्रका प्राचीन स्थलहरूमा निजी पहुँच पाउने यो पहिलोपटक भने होइन। यसै वर्षको सुरुवातमा, एउटा टेक अरबपतिका लागि गीजाको सो पिरामिड र महान् स्फिङ्सलाई एक हप्ता सार्वजनिक रूपमा बन्द गरिएको थियो।
महान् स्फिङ्स र पिरामिड विश्वका सबैभन्दा महत्त्वपूर्ण पुरातात्त्विक स्थलहरूमध्ये पर्दछन्।



