काठमाडौँ। बेलायतमा आयोजना हुँदै आएको ‘अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड’ (इनफा) यस वर्ष पहिलोपटक नेपालमा आयोजना हुने भएको छ। इनफा इभेन्ट्स यूके र इनफा नेपालको संयुक्त आयोजनामा हुने यो अवार्डको तेस्रो संस्करण आगामी साउन ३० गते काठमाडौँस्थित होटल याक एन्ड यतीमा भव्य रूपमा आयोजना हुनेछ।
इनफा अवार्डका पहिलो र दोस्रो संस्करण क्रमशः सन् २०२४ र २०२५ मा बेलायतको लन्डनमा सम्पन्न भएका थिए। अवार्ड समारोहको प्रत्यक्ष प्रसारण प्राइम टेलिभिजनबाट हुने आयोजकले जनाएका छन्। कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका अग्रणी व्यक्तित्व, सरकारी तथा निजी क्षेत्रका प्रतिनिधि, कूटनीतिक नियोग र राष्ट्रिय-अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिहरूको उपस्थिति रहने बताइएको छ।
उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक
अवार्डमा सहभागी फिल्ममध्ये उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गर्न आइतबार काठमाडौँमा एक कार्यक्रम आयोजना गरिएको थियो। अवार्डका चिफ कोअर्डिनेटर तथा निर्देशक मनीष कार्कीले २०८२ वैशाख १ गतेदेखि चैत मसान्तसम्म प्रदर्शनमा आएका ४० भन्दा बढी फिल्ममध्ये २० प्रतिस्पर्धात्मक विधामा उत्कृष्ट पाँचमा छनोट भएका कलाकार तथा प्राविधिकलाई मनोनयन प्रमाणपत्र वितरण गरिएको जानकारी दिए। बेलायतमा सम्पन्न पहिलो र दोस्रो संस्करणको अनुभवका आधारमा यस वर्षको आयोजन अझ भव्य र अन्तर्राष्ट्रिय स्तरको बनाइने उनको भनाइ थियो। नेपाली चलचित्रलाई विश्वबजारमा चिनाउनु नै इनफाको मुख्य लक्ष्य रहेको उनले उल्लेख गरे।
निर्णायक समिति र मूल्यांकन प्रक्रिया
अवार्डको निर्णायक समितिमा वरिष्ठ अभिनेता हरिहर शर्मा संयोजकको रूपमा रहेका छन्, जसमा अभिनेत्री गौरी मल्ल, निर्देशक तथा कलाकार रमेश बुढाथोकी र सम्पादक एवं गीतकार करुण सदस्यका रूपमा सामेल छन्।
समितिका संयोजक हरिहर शर्माले मूल्यांकन प्रक्रिया निष्पक्ष रहेको बताएका छन्। कुनै पनि अवार्डमा सबैलाई खुसी पार्न नसकिने भए पनि समितिले पूर्वाग्रहरहित र विवेकपूर्ण ढंगले निर्णय गरेको उनको भनाइ थियो।
मदनकृष्ण श्रेष्ठलाई लाइफटाइम एचिभमेन्ट अवार्ड
अवार्ड समारोहमा कुल ३२ विधामा पुरस्कार प्रदान गरिनेछ। नेपाली चलचित्र क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरूप वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठलाई दीर्घसाधना/लाइफटाइम एचिभमेन्ट सम्मानका रूपमा रु एक लाख ११ हजार १११ नगदसहित सम्मानित गरिने आयोजकले जनाएका छन्।
मनोनयन सार्वजनिक गर्ने कार्यक्रममा वरिष्ठ अभिनेता नीर शाह, अभिनेता भुवन केसी, प्रमोद अग्रहरि, अभिनेत्री जसिता गुरुङ, खुसी कार्की, उषा उप्रेती, निर्देशक कृषा चौलागाईं, पूर्णेन्दु झा, सुदिप्ता अधिकारीलगायत चलचित्रकर्मीको उपस्थिति रहेको थियो।



