काठमाडौं । नेपाली हस्तकला, मौलिक संस्कृति तथा स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले ‘नेपाल ह्याण्डिक्राफ्ट एक्स्पो एण्ड कल्चर शो २०२६’ काठमाडौंको बालुवाटारस्थित अम्रपाली ब्याङ्क्वेटमा सुरु भयो ।
तीन दिनसम्म सञ्चालन हुने प्रदर्शनी जेठ ८ देखि १० गते सम्म खुला रहने आयोजकले जनाएको छ। प्रदर्शनीमा देशभरका कलाकार, हस्तकला व्यवसायी तथा उद्यमीहरूले तयार गरेका ६० भन्दा बढी हस्तकला स्टल राखिएका छन्, जहाँ नेपाली सीप, सिर्जनशीलता र परम्परागत कलाको उत्कृष्ट झल्को अवलोकन गर्न सकिनेछ।
हस्तकलाका सामग्रीसँगै प्रदर्शनीमा फुड एण्ड बेभरेज फेस्ट, विविध सांस्कृतिक तथा लोकनृत्य प्रस्तुति, स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम तथा आकर्षक उपहारसहितको लक्की ड्र पनि आयोजना गरिएको छ, जसले प्रदर्शनीलाई थप आकर्षक बनाएको छ।

आयोजकका अनुसार प्रदर्शनीले नेपाली मौलिक कला, समृद्ध सांस्कृतिक सम्पदा र हस्तकलाको संरक्षण तथा प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास लिइएको छ। साथै, स्वदेशी उत्पादनप्रति आम नागरिकको आकर्षण बढाउने र हस्तकला व्यवसायलाई प्रोत्साहन गर्ने उद्देश्य पनि कार्यक्रमको रहेको बताइएको छ।
प्रदर्शनीमा सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।



