युनेस्कोको आर्म्ड कन्फ्लिक्टको अवस्थामा सांस्कृतिक सम्पत्तिको संरक्षण समितिले नोभेम्बर १८ मा घोषणा गर्दै ३४ लेबनानी सम्पदा स्थलहरूलाई “विस्तारित संरक्षण सूची” मा समावेश गरेको छ। युनेस्कोले यी स्थलहरूको सुरक्षाका लागि आर्थिक सहयोग र प्राविधिक सहायता प्रदान गर्नेछ। इजरायलले लेबनानमा हवाई आक्रमण तीव्र बनाएको कारण लेबनानी अधिकारीहरूले सुरक्षा माग गर्दै अनुरोध गरेपछि पेरिसमा बसेको समितिको “विशेष सत्र” पछि यो निर्णय लिइएको हो।
“युनेस्कोको लेबनानसँग गहिरो र दीर्घकालीन सहकार्य छ,” युनेस्कोकी महासचिव ओड्रे अजोलेले एक विज्ञप्तिमा भनिन्। “यसको अद्वितीय सम्पदाको संरक्षणका लागि हामी सबै किसिमको विशेषज्ञता र सहयोग प्रदान गर्न कुनै कसर बाँकी राख्नेछैनौं।”
विशेष संरक्षण सूचीमा परेका स्थलहरूमा पूर्वी लेबनानको बाआलबेकमा रहेका रोमन मन्दिरहरू पनि छन्। यस क्षेत्रमा नोभेम्बर ७ मा इजरायली हवाई आक्रमणले एउटा ओटोमनकालीन भवन ध्वस्त पारेको थियो। यस्तै, दक्षिणी बन्दरगाह सहर टायरका पुरातात्त्विक स्थलहरू पनि सूचीमा समावेश छन्, जहाँ नगरपालिकाको मुख्य पानी आपूर्ति केन्द्रलाई लक्ष्य गरी गरिएको आक्रमणमा दुई अधिकारीको मृत्यु भएको थियो। अन्य महत्त्वपूर्ण स्थलहरूमा ८,००० वर्षदेखि अविच्छिन्न रूपमा बसोबास गरिएको तटीय सहर बाइब्लोस, रास अल ऐन बेसिन्स र प्राचीन बस्तीहरू, विशेषगरी कांस्य युग र फलाम युगका अवशेषहरू छन्। यस्तै, बेरूतका बन्द गरिएको सुरसक संग्रहालय र राष्ट्रिय संग्रहालय पनि यस सूचीमा परेका छन्।
युनेस्कोले एक प्रेस विज्ञप्तिमा बताउँदै, “यी ३४ सांस्कृतिक सम्पत्तिहरू अब आक्रमण र सैन्य प्रयोजनका लागि उपयोगबाट उच्चतम स्तरको सुरक्षा पाउनेछन्।” साथै, १९५४ को हेग सम्मेलनको उल्लंघन गम्भीर अपराध मानिने र सम्भावित अभियोजनको आधार बन्ने चेतावनी दिएको छ। युनेस्कोले थप स्पष्ट पारेको छ कि यस्तो संरक्षणले सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायलाई यी स्थलहरूको संरक्षणको तात्कालिक आवश्यकता झल्काउने सन्देश दिन मद्दत गर्नेछ।



